‘नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रले सम्मान गर्नुपर्छ’

-



     सफल आवाज    
     भाद्र १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ भदौ । नेपाल सरकारले संसद्ले सर्वसम्मतीले स्वीकृत गरेको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने जनाएको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको हो ।

मन्त्रालयले संसद्ले सन् २०२० मा सर्वसम्मतीले स्वीकृत गरेको नेपालको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको उल्लेख गरेको छ । साथै उक्त नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्नेमा नेपाल सरकार स्पष्टरुपमा विश्वस्त रहेको जनाइएको छ ।

नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।