
टोकियो, १६ भदौ । जापानमा सन् १९२३ मा भएको महाकान्टो भूकम्पमा ज्यान गुमाएकाको सम्झना टोकियोमा स्मृतिसभा आयोजना गरिएको छ । सेप्टेम्बर १, १९२३ मा जापानको कान्टो क्षेत्रमा ७.९ म्याग्निच्युडको भूकम्प हुँदा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको थियो ।
भूकम्पपछि भएको हिंसामा छ हजारभन्दा बढी कोरियाली र सात सय ५० चिनियाँ मारिएका थिए । चीन र दक्षिण कोरियाली जापानी सैन्यवादीहरूले हिंसा साम्य पार्ने बहानामा आफ्ना नागरिकको निर्ममतापूर्वक हत्या गरेको आरोप लगाउँदै आएका छन् । स्मृतिसभामा पीडित परिवारका प्रतिनिधिले जापान सरकारलाई माफी माग्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए ।
सभामा जापानस्थित दक्षिण कोरियाली र चिनियाँ दूतावासका प्रतिनिधिले इतिहासको त्यो कालो दिन आफूहरूले नबिर्सने बताउँदै जापानी समाजले पनि आफ्ना शासकहरूबाट भएको जघन्य घटना सम्झनुपर्ने विचार व्यक्त गरेका थिए । स्मृतिसभामा जापान सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।