कामपा १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन, सभापति देउवाद्वारा रिजालको निधनप्रति दुःख व्यक्त

-



     सफल आवाज    
     भाद्र २१ गते २०८० मा प्रकाशित


काठमाडौँ, २१ भदौ काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको उपचारका क्रममा निधन भएकाे छ। निमोनियाका कारण उनकाे निधन भएको हो ।

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएका कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेले जानकारी दिएका छन।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले विहान ११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिएकाे छ । अहिले १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिनेछ । अपरान्ह २ः३० बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको जनाएको छ ।

रिजालकाे निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन। स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन । दिवङ्गत आत्माको चिरशान्तिको कामनाका गर्दै देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन।

विसं २०२७ कात्तिकमा जन्मेका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । रिजाल कांग्रेस काठमाडौँ क्षेत्र नं-७ को क्षेत्रीय सभापति र कामनपा-१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका उनले मानव अधिकारवादी सङ्घ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए ।