सिनर्जी पावरकाे हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन पाइने

-



     सफल आवाज    
     भाद्र २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ भदाै । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले बिक्रीमा ल्याएकाे हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएकाे छ । कम्पनीले भदौ ३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयरका लागि आवेदन खुलाएकाे थियाे । म्याद थप गरिएपछि हकप्रद सेयर भदौ ३१ गतेसम्म आवेदन दिन पाइने भएकाे छ।

कम्पनीले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता सेयर जारि गरेकाे हाे । कम्पनीले रुपैयाँ ४० करोड ३२ लाख ८७ हजार ५०० बराबरको प्रतिशेयर रुपैयाँ १०० अंकित दरकाे ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद जारी गरेकाे हाे ।

साउन १२ गते बुकक्लोज गरिएकाेले साउन ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन याेग्य हुनेछन् ।

हकप्रद सेयरमा लगानीका लागि इच्छुक लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्। यस्तै सेबाेनबाट स्वीकृति लिएका सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ।

अहिले रुपैयाँ ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद बिक्री भएपछि चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ हुनेछ ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ र ९ काे सिप्रिङ खोलाबाट २०६९ माघ ३ गतेदेखि १० मेगावाटकाे जलविद्युत उत्पादन गरिरहेको छ। सोलुखुम्बुमा २२ मेगावाटको मध्य होङ्गु खोला ‘ए’ जलविद्युत आयोजनाका लागि ४४ करोड २६ लाख ८६ हजार रुपैयाँ लगानी गर्ने जनाएकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।