दुईदिन पछि नेप्सेमा पुनः करेक्सन, सवा १ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ भदौ । दुईदिन लगातार नेप्से उकालोको यात्रामा गएपछि उत्साही बनेका लगनीकर्ताहरु तेश्रो दिनमा करेक्सन देखिएपछि पुनः पर्ख र हेरको अवश्थामा पुगेका छन् ।

पहिलो दिन आईतबार नेप्सेमा १०.२३ अंकको बृद्धि भई नेप्से परिसूचक १९४२.६८ विन्दुमा उक्लिएको थियो । सोमबार चौथाई बढी ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा उक्लिएर नेप्सेमा उभार देखिएपछि अब निरन्तर लयमा जान्छ कि भन्ने अपेक्षा बढे पनि त्यो अपेक्षा त्यतिमै सिमित रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा झरेको छ । नेप्सेमा ०.९७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.५० अंकले घटेर ३७९.१४ विन्दुमा रहेको छ ।

१३ वटा उपसमूहरुमध्ये एउटा बाहेक सबैमा रातो लागेको छ । नेप्सेमा यसदिन कुल २७६ कम्पनीहरुको ३८ लाख ९१ हजार ७८ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट १ अर्ब १२ करोड ३२ लाख ९६ २२९ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल एसबिआई बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको ७ करोड ५६ लाख २ हजार २० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ७.५८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।