खाद्यान्न ओसार्ने जहाज नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८० मा प्रकाशित



किएभ, ३१ भदौ । खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् । युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन् । यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन् ।

युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो । टर्कीएको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्रेन र रुसबीच ब्ल्याक सीबाट अन्न आपूर्ति गर्ने सम्झौतालाई दुई महिनाअघि रुसले एकतर्फीरूपमा समाप्त भएको घोषणा गरेपछि स्वतन्त्ररुपमा नागरिक जहाज युक्रेनी बन्दरगाहमा पुगेको यो पहिलो पटक हो । पहिले यो बाटो युक्रेनबाट प्रस्थान गर्ने जहाजहरूले मात्र प्रयोग गर्दै आएका थिए ।

ब्ल्याक सीको तटबाट किएभले नयाँ मार्गमा जहाज सञ्चालनलाई प्राथमिकता दिएको छ । पश्चिामा मुलुकले लादेको प्रतिबन्धका कारण आफ्नो खाद्यान्न र मल निर्यात प्रभावित भएको मस्कोले गुनासो गरेको छ । साथै युक्रेन जाने जहाजमाथि सैन्य कारबाही गर्ने धम्की दिएको छ । गत साताको प्रारम्भमा ओडेसाको युक्रेनी बन्दरगाहमा रोकिएका जहाजलाई लक्ष्य गरी रुसले आक्रमण गरेको आरोप बेलायतले लगाएको छ । करिब २० महिनाअघि रुसले युक्रेनमा आक्रमण गरेपछि निर्यातका निम्ति तयारी अवस्थामा राखिएको दुई करोड टन अन्न विश्व बजारमा पु¥याउन कठिन भएको थियो ।

पर्याप्त मात्रामा उक्त अनाज निर्यात नहुँदा संसारभर खाद्यान्नको मूल्य बढ्योभने मध्यपूर्वी र अफ्रिकी देशहरूमा अभाव सृजना भयो । युक्रेन युद्धबाट अफगानिस्तान, यमन, सुडान र इथियोपिया लगायतका यी केही देशमा परिचालन गरिने मानवीय सहायताका कार्यक्रम पनि प्रभावित भएका छन् । मस्कोले युक्रेनी बन्दरगाह पूर्वाधारलाई आक्रमाणको निशाना बनाउँदै आएको छ । उसले इज्मेल र रेनीको बन्दरगाहमा बारम्बार आक्रमण गरेको छ ।

विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने उद्देश्यका साथ मस्कोले अन्न निर्यात हुने स्थानमा आक्रमण गरेको आरोप किएभले लगाएको छ । लामो समयदेखिको खडेरीका कारण केन्यालगायत अफ्रिकी मुलुकमा खाद्यान्नको चरम अभाव हुन नदिन रुसले युक्रेनी अन्न निर्यातमा अवरोध गर्न नहुनेमा केी रुसी अधिकारीहरूले जोड दिएका छन् ।