रसुवा भन्सार कार्यालयले २ महिनामै उठायाे ५ अर्ब राजस्व

-



     सफल आवाज    
     असाेज ४ गते २०८० मा प्रकाशित



रसुवा, ४ असाेज । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा ५ अर्ब राजस्व संकलन गरेकाे छ । साे कार्यालयका अनुसार चीनबाट ल्याइएका तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयर पार्ट्स, विद्युतीय मोटर कार समेतका साना ठूला सवारीसाधन, हाइड्रोपावरका सामग्री, स्याउ, ओखर, लसुन, अदुवा लगायतका आयातित सामग्रीको शुल्कबाट याे राजस्व उठेको हो।

गत साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ सामग्रीको नियमानुसार भन्सार शुल्कबापत ५ अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ असुली गरी सो रकम राजस्व खातामा दाखिला गरिएको भन्सार कार्यालय रसुवाका प्रमुख रामप्रसाद पाठकले बताए ।

कार्यालयकाे साउन भदौको असुली लक्ष्य १ अर्ब ४ करोड हाराहारी मात्र भएकोमा पछिल्लो समय व्यवसायीले बिभिन्न सामाग्रीकाे आयात परिमाण बढाएको र गुणस्तरका आधारमा ति समाग्रीकाे मूल्यांकन भएकाेले भन्सार राजस्व वृद्धि भएको बताइएको छ।

व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सारका कर्मचारीले बताएका छन्। यस्तै भन्सारमै रहेका करिब ५ सय चिनियाँ विद्युतीय कार क्रमश: भन्सार छुटाएर नेपाल भित्र्याउने काम भइरहेकाे बताइएको छ।