
झापा, ४ असाेज । भाटभटेनी डिपार्टमेन्टल स्टोर्सको २६औं शाखा झापाको बिर्तामोडमा खुलेको छ। भाटभटेनीका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले अाज बिहीबार एक समाराेह बीच उक्त शाखाको उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटनको अवसरमा बोल्दै गुरुङले भाटभटेनीले रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर शाखा बिस्तार गरेको बताए । भाटभटेनीको बिर्तामोड शाखामा मात्रै ३ सय जनाले प्रत्यक्ष रोजगारी दिएकाे उनले बताए । ‘धेरै युवाहरु विदेशिएको देखेको छु,’ उनले भने, थोरै भएपनि रोजगारी बृद्धि गर्न पाउँदा मलाइ गौरव महसुस भएकाे छ ।

भाटभटेनीले हालसम्म काठमाडौं उपत्यकामा १३ वटा शाखा र उपत्यका बाहिर १३ वटा शाखा बिस्तार गरिसकेको छ । बिर्तामोड शाखा १५ कठ्ठा जग्गामा फैलिएको छ । २ लाख स्क्वायर फिटमा सञ्चालनमा आएको साे शाखामा २ अर्ब लगानी भएको बताइएको छ । काठमाडौंको सेवा बिर्तामोडमा प्रदान गर्ने गरी शाखा विस्तार गरिएको भाटभटेनीले जनाएको छ ।
शाखा सञ्चालनको अवसरमा २० प्रतिशतसम्म छुट
बिर्तामोड शाखा सञ्चालनमा आएको अवसरमा १० देखि २० प्रतिशतसम्म छुट प्रदान हुने भाटभेटेनीले जनाएको छ । विशेष छुटले बिर्तामोड आसपासका सर्वसाधारण उपभोक्ताहरु लाभान्वित हुने विश्वास गरिएको छ ।
