१३ अर्ब १० करोडको बिकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

-



     आरजू बिष्ट सल्यानी    
     असाेज १३ गते २०८० मा प्रकाशित




काठमाडौं, १३ असोज । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १५ गते साेमबार बोलकबोलबाट १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्न लागेकाे छ । बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ “ग” निष्काशन गर्ने भएको हो ।

बोलकबोल प्रक्रियामा इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाहरु तथा नेपाली नागरिकले तोकिएको मितिमा बोलकबोल पेश गर्नुपर्नेछ ।

सो ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ । राष्ट्र बैंकले यस विकास ऋणपत्रलाई धितो राखेर कर्जा लिन दिन सकिने जनाएको छ ।

बेलकबोल अवधि असोज १४ गते आईतबार अपरान्ह ३ बजेसम्म हुनेछ । यसलाई खरिद गर्न चाहनेहरुले अनलाईनबाट बोलकबोल गर्नुपर्नेछ । यसका लागि खरिदकर्ताले https://obss.nrb.org.np/pd मा जानुपर्नेछ ।

बैंकले सो विकास ऋणपत्रको निष्काशन मिति असोज १५ गते र साँवा भुक्तानी मिति असोज १५ गते नै तोकेको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

प्रतिस्पर्धी र अप्रतिष्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशन भएको रकमको ८५ र १५ प्रतिशत अर्थात रुपैयाँ ११ अर्ब १३.५० करोड र रुपैयाँ १ अर्ब ९६.५० करोड छुट्याईएको छ ।

राष्ट्र बैंकले अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याईएको रकमको पूरा बोल प्राप्त नभएमा बाँकी हुने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने जनाएको छ । यस्तै बढी रकमको बोल प्राप्त भएमा समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने भएको छ ।

ऋणपत्र घटीमा रुपैयाँ ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रुपैयाँ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा रहेको छ ।

सो ऋणपत्र खरिद गर्नका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीकाे रुपमा भाग लिन नपाउने राष्ट्र बैंकले जनाएको छ ।