काठमाडौंका बिभिन्न क्षेत्रमा डेङ्गी संक्रमणका बिरामी बढे

-



     सफल आवाज    
     असाेज १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ असाेज । काठमाडौं महानगर क्षेत्रमा डेङ्गी संक्रमणका बिरामी झन झन बढ्न थालेका छन्। विगत १ हप्तादेखि महानगरको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेकाे काठमाडाै महानगरपालिकाकाे स्वास्थ्य विभागले जानकारी दिएको छ। स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा याे वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा भएपनि अहिले विस्तारै बिरामी बढिरहेका छन। 

काठमाडौं महानगर डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरेपनि पछिल्लो समय डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलले बताएका छन। अहिले बजारमा बढि बिरामी देखिन थालेका छन। यसको जोखिम आगामी १ महिनासम्म रहन सक्ने भएकाेले सबै सचेत रहन महानगरकाे स्वास्थ्य सेवा विभागले जनाएकाे छ ।

अहिले कामपाका सबै वडामा प्रत्येक बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान संचालन गरेकाे छ।  लामखुट्टेबाट बच्न पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर सुत्न नगरवासीलाई आग्रह गरिएकाे छ। उनका अनुसार उक्त सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने कार्य गरिएको बताइएकाे छ।

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखापर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन ।