मेक्सिको बस दुर्घटनामा १८ को मृत्यु

-



     सफल आवाज    
     असाेज २० गते २०८० मा प्रकाशित



ओक्साका, मेक्सिको, २० असोज । मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् । दुर्घटनामा तीन बालबालिका र दुई महिला भेनेजुएला र हाइटीका भएको ओक्साका राज्यका महान्याधिवत्ताले जानकारी दिए।

दुर्घटनामा घाइते २७ जनालार्ई उपचारका लागि नजिकैका अस्ततालहरूमा पुर्याइएको छ । अधिकारीहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा सीएनएनबाट प्राप्त जानकारीअनुसार पहाडी ओक्साका–कुआकनोपालन राजमार्गको घुमाउरो खण्डमा बस पल्टिएको र ठूलो क्षति भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार बिहान पाँच बजे भएको दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

गत आइतबार एक बच्चासहित कम्तीमा १० जना क्युवाली आप्रवासीको मृत्यु भएपछि पछि दुर्घटना भएको हो । क्युवालीहरू यात्रा गरिरहेको ट्रक दक्षिणी मेक्सिकोमा पल्टिएको थियो । भेनेजुयला र हाइटीबाट अधिकांश आप्रवासीहरू असुरक्षा र आर्थिक सङ्कटका कारण उत्तरतर्फ यात्रा गर्ने गरेको सिएनएनले जनाएको छ । अमेरिका र मेक्सिकोका अधिकारीहरूले आप्रवासीहरूको आगमनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

वासिङ्गटनले मेक्सिको सिटीलाई मेक्सिको क्षेत्र पार गर्ने आप्रवासीका बारेमा थप जिम्मेवार बन्न दबाव दिइरहेको छ । खाद्यान्न अभाव र सीमित स्वास्थ्य सेवाका कारण भेनेजुयलाबाट मात्र ७७ लाखभन्दा बढी मानिस विस्थापित भएको बताइएको छ । यो विस्थापनको सङ्ख्याले युद्धको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएको जनसङ्ख्यालाई समेत पछाडि पारेको छ ।