गोर्खा वेलफेयर ट्रष्टद्वारा दमौली अस्पताललाई डेंगू रोकथामका स्वास्थ्य सामाग्री हस्तान्तरण

-



     सफल आवाज    
     असाेज २४ गते २०८० मा प्रकाशित



पाेखरा, २४ असाेज। गोर्खा वेलफेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी सरसफाइ तथा आपतकालिन तयारी कार्यक्रमको प्रधान कार्यालय पोखराले दमौली अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । तनहूँ जिल्लामा फैलिएको डेङ्गू संक्रमणलाई दृष्टिगत गरी उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको प्रोग्राम डाइरेक्टर दिपक कुमार श्रेष्ठले बताए ।

हस्तान्तरित स्वास्थ्य सामाग्रीहरुमा डेंगू रोकथामका लागि अति आवश्यक १ हजार ८ वटा अडोमस क्रिम, २ हजार वटा पारासिटामोल ट्याब्लेट, ६ सय भाइल पारासिटामोल इन्जेक्सन, ६ सय बोटल नर्मल सलाइन र ६ सय बोटल रिन्जर्स ल्याक्टेट रहेको जनाकारी न्ध्त्ल्रच्ध्भ्एए का मनिटरिड्ड एण्ड ईभालुएसन अफिसर प्रतिक गुरुङले जानकारी दिएका छन ।

यी स्वास्थ्य सामाग्रीहरुले केही मात्रामा भएपनि उक्त क्षेत्रमा डेंगूबाट संक्रमित बिरामीहरुको उपचार र डेंगू रोकथाममा सघाऊ पुग्ने गोर्खा वेलफेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी सरसफाइ तथा आपतकालिन तयारी कार्यक्रमले विश्वास गरेको छ ।

जिल्ला समन्वय समिति तनहूँका सभापति शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा भएको उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा तनहूँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने तथा GWTN/RWEPP का प्रोग्राम डाइरेक्टर दिपक कुमार श्रेष्ठ लगायतले भनाइ राखेका थिए ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको शाखा कार्यालय एरिया वेल्फेयर सेन्टर तनहूँको संयोजनमा भएको उक्त कार्यक्रममा दमौली अस्पताल व्यवस्थापन समितिका देवेन्द्र थापाले डेंगू रोकथामका लागि सहयोगस्वरुप प्राप्त स्वास्थ्य सामाग्रीहरुको लागि गोर्खा वेल्फेयर ट्रष्ट नेपाल प्रति आभार व्यक्त गरेका थिए ।

उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण कार्यक्रममा दमौली अस्पताल व्यवस्थापन समितिका सदस्यद्वय केश बहादुर सुनार र सृजना सिग्देल, अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर परिवर्तन बराल, व्यास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अनुप राना लगायत गोर्खा वेल्फेयर ट्रष्ट नेपालका एरिया वेल्फेयर सेन्टर तनहूँका असिस्टेन्ट एरिया वेल्फेयर अफिसर चित्र बहादुर गुरुङको समेत उपस्थिति रहेको थियो ।

दमौली अस्पतालका व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र थापाको सभापतित्वमा भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन डी.आर.आर. अफिसर सुमेरु त्रिपाठीले गरेकाे गोर्खा वेलफेयर ट्रष्ट नेपालका आश बहादुर गुरुङले जानकारी दिएका छन ।

गोर्खा वेल्फेयर ट्रष्ट सन् १९६९ मा बेलायतमा स्थापित एक परोपकारी संस्था हो । बेलायती सरकार र नागरिकबाट प्राप्त चन्दा सहयोगबाट संस्थाले नेपालमा रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक, सिंगापुर पुलिस तथा तिनका आश्रित परिवारजनका साथै समुदायका लागि विभिन्न कल्याणकारी कार्य गर्दै आईरहेको छ ।

पोखरामा प्रधान कार्यालय रहेको गोर्खा वेल्फेयर ट्रष्ट नेपालले आफ्ना २० वटा शाखा फिल्ड कार्यालयहरु मार्फत नेपालभरि विभिन्न व्यक्तिगत तथा सामुदायिक सहायता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । जस अन्तर्गत वेल्फेयर पेन्सन वितरण, स्वास्थ्य उपचार सेवा, निःशुल्क स्वास्थ्य शिविरहरु, विद्यालय भवन परियोजना, खानेपानी आयोजना निर्माण तथा विपद व्यवस्थापन एवं राहत वितरण आदि कार्यक्रमहरु मुख्य रुपमा रहेको GWTN/RWEPP का प्रोग्राम डाइरेक्टर दिपक कुमार श्रेष्ठले जानकारी दिएका छन ।