हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन

-



     सफल आवाज    
     असाेज २६ गते २०८० मा प्रकाशित



अम्मान, २६ असोज । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गरेका छन् । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उनले अरब मुलुकहरूको भ्रमण सुरु गरेका हुन।

उहाँले लामो समयदेखिको अमेरिकाको साझेदार जोर्डका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् । त्यसपछि उनले कतार, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नेछन् ।

गत शनिबार हमासको आश्चर्यजनक हमलापछि अमेरिकी सहयोगी इजराइलसँग अटुट एकताको प्रतिबद्धता व्यक्त गर्दै विदेशमन्त्री ब्लिङ्केनले बिहीबारको दिन तेल अविवमा बिताए । हमासको उक्त आक्रमणमा इजराइलमा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढीलाई हमास लडाकु समूहले बन्धक बनाएको छ । हमासको आक्रमणपछि इजराइलले गाजापट्टीमा गरेको हमलामा एक हजार चार सयभन्दा बढीको मृत्यु भएको छ ।

इजराइलले गाजापट्टीमा खाद्यान्न, पानी र विद्युत् आपूर्ति बन्द गरिदिएको छ । हमासको लामो समयदेखि सम्बन्ध रहेको कतारलाई बन्धकहरूलाई मुक्त गराउन मध्यस्थकर्ताको रूपमा हेरिएको छ । विदेशमन्त्री ब्लिङ्केन जोर्डनपछि तुरुन्तै कतार जानुहुनेछ । “द्वन्द्वलाई थप चर्काउनबाट रोक्न सहयोग गर्न र बन्धकहरूलाई बिनाशर्त तुरुन्त रिहा गर्न हमाससँग आफ्नो प्रभावको प्रयोग गर्न अरब मुलुकहरूमाथि दबाबलाई जारी राख्नेछौँ”, तेल अविवमा बिहीबार अबेर ब्लिङ्केनले भने ।