
काठमाडौं, २६ असोज । सिटिजन्स बैंकको अध्यक्षमा प्रवल जङ्ग पाण्डे चयन भएका छन। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७ औं वार्षिक साधारण सभा पश्चात बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक प्रवलजङ्ग पाण्डेलाई अध्यक्ष पदमा चयन गरेको हाे ।
पाण्डे यस अघि बैंकको सञ्चालक पदमा रहि कार्य गरि सकेका छन् । वहाँ मर्जर तथा एक्वीजिशन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो ।

बैंकको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने अध्यक्ष पाण्डे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख लगानीकर्तामा पर्छन् । इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।
बैककाे १७ औं वार्षिक साधारण सभाबाट सीता कार्की (के .सी.), सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । । बैंकमा ७ जना सञ्चालक रहेकोमा सर्वसाधारणहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहेका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट,क्रेडिट, प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।