
काठमाडौं, २८ असोज । सभामुख देवराज घिमिरेले ‘विश्व हात धुने दिवस’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् ।
कोरोना महामारीविरुद्धको लडाइँमा साबुनपानीले हात मिचीमिची धुने अभियान चलाइएको समेत सभामुख घिमिरेको भनाइ छ । “चर्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ ।
हाम्रा बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ”, उनले भनेका छन् । सरसफाइले स्वास्थ्य सभ्यताको समेत परिचय दिने र स्वास्थ्य, सफाइ र सभ्यताबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै उनले जहाँ सफाइ हुन्छ, त्यहाँ रोगव्याधीको सम्भावना रहँदैन भन्ने सचेतना जनस्तरमा फैलाउन सके दिवसको महत्व अझै बढेर जानेमा विश्वास व्यक्त गरे ।