
काठमाडाैं, २ कार्तिक । कुमारी बैंक लिमिटेडकाे आजदेखि ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गरिएकाे छ । साे ऋणपत्रकाे अवधि १० वर्षकाे रहेकाे छ भने वार्षिक १० प्रतिशत ब्याजदरमा निष्काशन गरिएको हो।
बैंकका अनुसार प्रतिऋणपत्र एक हजार अंकित मूल्यकाे ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकाे छ । यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने भएकाे छ । २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। यसबाट १ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा २५ र बढीमा ५ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसका लागि कात्तिक १२ गतेसम्म आवेदन दिन सकिनेछ । साे मितिसम्म पूरा आवेदन नपरेमा कात्तिक १६ गतेसम्म आवेदन दिन पाइनेछ ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सेवामा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट आवेदन दिन पाउनेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।