उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीद्वारा ‘ब्रिफिङ’

-



     सफल आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित



काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

चीनमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । प्रधानमन्त्री दाहालले उहाँको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको जानकारी गराउनुभएको मन्त्री शर्माले बताउनुभयो । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराख्नुभएको छ । उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले भन्नुभयो । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।