यस्ताे छ कलाकारहरूकाे दसैं मनाउने याेजना

-



     सफल आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दसैँको चटारो छ । किनमेलसँगै काम टुङ्ग्याएर दसैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन् । काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दसैँलाई भेटघाटको अवसरका रूपमा लिएका छन् ।

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दसैँलाई भेटघाटका रूपमा सदुपयोग गरेका छन्। उनी यसपटक चलचित्र ‘पशुपति प्रसाद २, भष्मे डन’ को प्रदर्शनका कारण काठमाडौँमै दसैँ मनाउँदैछन्हु । तर अघिल्ला वर्षहरूमा उनी स्याङ्जा पुग्ने गर्थे । “मेरो लागि दसैँ साथीभाइसँगै आफन्तसँग भेट्ने चाड हो । बाल्यकालमा दक्षिणा र खानपानको लोभ हुन्थ्यो । अहिले भेट्ने र कुराकानी गर्ने लोभ हुन्छ”, अभिनेता लामिछानेले भने।

अभिनेत्री केकी अधिकारी यसपटक चलचित्र ‘परदेशी २’ को प्रचार–प्रसारमै छन्। उनी मोफसल भ्रमणमा रहेता पनि दसैँ काठमाडौँमा मनाउने तयारीमा छन्। यद्यपि टीकाबाहेकका समयमा मिल्दासम्म दर्शकसँग चलचित्र भवनमा भेटघाट गर्ने उनको योजना छ । “मैले कलेज जीवनदेखि नै काम गरेकाले दसैँ भेटघाट र परिवारसँग बस्ने चाड भएका कारण मेरा लागि खास छ । केही वर्ष कोरोना र विविध कारणले परिवारलाई धेरै समय दिएकी थिएँ । यसपटक चलचित्रका परिवार र दर्शकसँग दसैँमा बढी हुनेछु । साथै ठूलासँग टीका लगाउने त छ नै”, अभिनेत्री अधिकारीले भनिन्।

अभिनेता विपीन कार्की यसपटक सुनसरीमा घर गएर दसैँ मनाउने तयारीमा छन्। उनको पात्र ‘भष्मे डन’ लाई लिएर तयार गरिएको ‘पशुपति प्रसाद २ भष्मे डन’ कै प्रचार–प्रसारमा व्यस्त भएपनि उनले घर पुग्ने बताए। उनले भने, “अहिले मिडियाकर्मीसँग भेटघाट भइरहेको छ । टीका अगाडि नै घर पुगेर एकसाता बिताउने योजना छ । किनकि पूर्णिमालगत्तै नयाँ चलचित्र महाजात्राको छायाँङ्कनमा व्यस्त हुनेछु ।” उनको दसैँसँग धेरै सम्झना जोडिएको छ ।

दसैँमा टीका लगाउने र दक्षिणालाई चलचित्र हेर्नमा प्रयोग गर्ने बाल्यकालको स्मरण उनको छ । “सानो छँदा दसैँकै आसपासमा खुट्टामा घुँडा तल अलिकति काटिएको थियो । दसैँमा मामाघर जाने र दक्षिण पाउने जोशमा साइकल चढेर पुगेँ । घर आएपछि खुट्टा सुनिएर हस्पिटल नै पुग्नुपरेको थियो । दसैँ मेरो लागि बाल्यकालदेखि नै खास छ”, अभिनेता कार्कीले भने ।

हाँस्यकलाकार शिवशङ्कर रिजाल कार्यक्रमको दौडधुपलाई विश्राम दिएर दसैँ मनाउने तयारीमा छन्। नेपाल सांस्कृतिक महासङ्घको महामन्त्री भएकाले पनि जिल्ला अधिवेशनको दौडधुपबाट दसैँमा विश्राम मिल्ने उनले बताए। “मेरो दसैँ आमा र मामाको हातबाट टीका लगाएर हुने गरेको छ ।

म सम्भव भएसम्म आफूले मान्नुपर्ने अग्रजकहाँ पुगेर आशीर्वाद लिने गरेको छु । दसैँकै बेलामा पुख्र्यौली घर सर्लाही पनि पुग्नेछु”, हाँस्यकलाकार रिजालले भने। कलाकार पनि अन्यझैँ दसैँलाई आफन्त र साथीभाइसँग भेटघाट गरेर मनाउने तयारीमा छन् । दसैँ नहुने केही कलाकर्मीले घुमघामको योजना बनाएका छन् ।