
साैराहा, ८ कात्तिक । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।
सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए। उनीहरूसँगै क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।
नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दसैँ मनाउन पाउँदा निकै खुसी देखिए । “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाएको छु, धन्यवाद नेपाली”, उनले भने ।” अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिए ।
उनले आगामी वर्ष पनि नेपालमा आएर दसैँ मनाउने बताए । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक माइकाले भने। चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् ।

हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्यलसमेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए। “हामीले विगतमा पनि यसरी पर्यटकलाई दसैँमा सँगै राखेर मनाएका थियौँ”, उनले भने, “हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ ।” नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ ।
दसैँसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए। पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दसैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




