अन्तर व्यवस्थापिका सङ्घको महासभामा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सम्बोधन गर्ने

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ कात्तिक । अन्तर व्यवस्थापिका सङ्घ(आइपियू)को एक सय ४७औँ महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा सुरु भएको छ ।

‘शान्ति, न्याय र सशक्त निकायका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सुरु महासभा कात्तिक ६ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

महासभाको उद्घाटन समारोहलाई गणतन्त्र एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्स, अन्तर व्यवस्थापिका सङ्घ (आईपियू)का महासचिव डुराकल पाचेको, संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिनिधि डुराटे पाचेकालगायतले सम्बोधन गरे।

महासभामा नेपालका तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ ।

महासभामा राष्ट्रियसभा सदस्य कुमार दसौँदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरी र सन्तोष परियार एवं सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायत सहभागी छन्। महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।