कलाकार घिमिरेको मणिपाल अस्पतालमा उपचार हुँदै

-



     सफल आवाज    
     कार्तिक १० गते २०८० मा प्रकाशित



पोखरा, १० कात्तिक । घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भिर घाइते भएका चर्चित कलाकार प्रकाश घिमिरेकाे पाेखरास्थित मणिपाल शिक्षण् अस्पतालमा उपचार भइरहेकाे छ ।

पोखरा महानगरपालिका वडा नं ३ स्थित प्रेम शेरचनको घर नजिकै शेरचनसंगै कुराकानी गर्दै घाँस काटिरहेका घिमिरे एक्कासि भीरबाट खसेका थिए । उनी खसे लगत्तै शेरचनले साथीभाईहरुलाई खबर गरेपछि उनलाई झाडि भएको स्थानमा खाेजेर करिब २० मिनेटमा उद्धार गरी अस्पताल पुर्याईएको थियो ।

करिब चार घन्टा इर्मजेन्सिमा राखेर उपचार गरेपछि उनलाइ अपरान्हदेखि आईसियुमा राखिएको छ । अस्पतालका अनुसार उनलाई टाउकोमा चोट लागेको छ । ढाडमा तीन ठाउँमा समस्या देखिएको छ भने ब्लड प्रेसर घटेकोले औषधीबाट त्यसको सन्तुलन कायम गर्ने प्रयास गरिएको छ ।

कलाकार घिमिरे भीरबाट खसेर घाईते भएकाे थाहा पाएपछि उनको स्वास्थ्य लाभको कामना गर्नेहरु ठुलो संख्यामा अस्पताल जाने आउने गरेका छन् ।

नेपाल संगीत नाट्य एकेडेमीका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, सदस्य सचिव तथा संस्कृतिकर्मि तीर्थ श्रेष्ठ, वरिष्ठ कार्टुनिष्ट दुर्गा वराल वात्स्यायन, निर्देशक अनुप वराल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वराल, सांसद सरस्वती गुरुङ, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, रंगकर्मि, कलाकार र उनका सुभेच्छुकहरुले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हामी बिहान मर्निङ वाकमा गएका थियौं । गायक, संगीतकार विनोद वानियाले भने, मर्निङवाक गरेर प्रेम शेरचन, प्रकाश दाई र म मणिपाल जोडेको पुलबाट छुट्टिएका हौं । उहाँहरु पारि नदीपुरतिर लाग्नुभयो र म मणिपाल भएर घर आए । त्यसको केहि समयपछि पो प्रकाश दाई भीरबाट खसेको सूचना आयो ।

म त झसंग भएँ । विनाेदले भने, होईन होला जस्तो लाग्यो तर प्रेम दाईसंग कुरा भएपछि हामीलाई घटनाले निकै दु:खी बनायो । राष्ट्रकाे गहना, कलाकार घिमिरेकाे सिघ्र स्वास्थ्य लाभकाे कामना ।