
काठमाडौं, १२ कात्तिक । चालु आर्थिक वर्षको तेस्रो महिना असाेजसम्ममा नेपालमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख बराबरको माल सामाग्री आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको थियाे ।
गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ ।
विभागका अनुसार सो अवधिमा नेपालबाट रु ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा रु ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो । सो अवधिमा नेपालको वैदेशिक व्यापार रु चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ ।
गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा रु तीन खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा रु तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो ।