
काठमाडौं, १३ कात्तिक । कुमारी बैंकले बिक्रीमा ल्याएकाे ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ मा आवेदन दिने आज सोमबार कात्तिक १३ गते अन्तिम दिन रहेकाे छ । आज कार्यालय समयभित्र आवेदन दिन पाइने बताइएकाे छ ।
बैंकले आइतबार मात्रै पूरा ऋणपत्रका लागि आवेदन नपरेपछि म्याद थपेकाे थियो । उक्त दिनमा बैंकले माग गरेकाेभन्दा धेरै आवेदन पेश भएपछि आजदेखि ऋणपत्रकाे बिक्री बन्द गर्न लागिएकाे हाे । यसअघि कात्तिक १६ गते मंगलबारसम्म आवेदन म्याद लम्ब्याइएकाे थियाे ।
बैंकले शुरुमा कात्तिक २ गतेदेखि ऋणपत्र बिक्रीमा ल्याएकाे हाे । १० वर्षकाे अवधि रहेकाे यसमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।
बैंकले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गरेको हो। यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने भएकाे छ । २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। सर्वसाधारणतर्फबाट १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
इच्छुक लगानीकर्ताले घटीमा २५ कित्ता तथा बढीमा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइने भएकाे छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।