
पाेखरा, १४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भने, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको छ ।”
कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग गरी देश र जनताको समृद्धि गर्ने गन्तव्य एमालेको रहेको उनको भनाइ छ । उनले भने, “पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर भएको छ, कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सबै पार्टी मिलेर अगाडि बढ्नुको विकल्प छैन ।”
वर्तमान अवस्थामा देखिएको अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन लोकतान्त्रिक पार्टीको भूमिका महत्वपूर्ण भएको बताउँदै उनले लोकतन्त्र प्राप्तिपछि भएका विकासका काम र संविधानबाट प्राप्त उपलब्धिलाई जनतामाझ लैजान जरुरी भएको बताए। एमालेका हरेक कार्यकर्ता दिनको १८ घण्टा जनताको सेवामा जुट्दै आउँदो निर्वाचनमा एमाले पार्टीलाई सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्नुसमेत उनले जोड दिए ।
एमालेका पालामा विकास निर्माणका काम धेरै भएको दाबी गर्दै अध्यक्ष ओलीले वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऊँ, गाउँगाउँमा सडक बाटो, शिक्षा–स्वास्थ्य जस्ता कामहरु गरेर लोकप्रियता हासिल गरेको बताए। आफूले कुनै किसिमको भ्रष्टाचार नगरेको दाबी गर्दै अध्यक्ष ओलीले कम्बोडियामा आफ्नो लगानी नभएको र त्यो भ्रम छर्न रचिएको प्रपञ्च भएको बताए। सुन तस्करी काण्डमा मुछिएकालाई कानुनी दायरामा ल्याउनसमेत उनले जोड दिए।
पार्टीका उपाध्यक्ष रामबहादुर थापाले एमाले समाजवादको बाटोमार्फत देश र जनताको समृद्धितर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले एमालेको दसौँ महाधिवेशनको कार्यदिशा पनि बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमार्फत देश र जनताको समृद्धि गर्ने नै रहेको विश्वास दिलाए ।
नेपाली जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र औद्योगीकरणलाई जोड दिनुपर्ने थापाको भनाइ थियो । सो अवसरमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहणसमेत गराइएको थियो ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




