माछापुच्छ्रे बैंककाे नाफा २०.१८ प्रतिशतले बढ्याे, इपीएस कति ?

-



     सफल आवाज    
     कार्तिक १७ गते २०८० मा प्रकाशित



काठमाडाैं, १७ कात्तिक । माछापुच्छ्रे बैंककाे खुद नाफामा सुधार भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षकोभन्दा बढेको छ।

यस आर्थिक वर्षको असोजसम्म बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गएकाे आर्थिक वर्षको सोही समयकाेभन्दा २०.१८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा बैंकले ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। विवरणहरूका अनुसार खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटाएकाेले खुद नाफा बढेकाे हो।

खुद ब्याज आम्दानी ३.९५ प्रतिशत तथा खुद फि र कमिशन ४.४० प्रतिशतले घटेको देखिन्छ। कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घट्दा सञ्चालन नाफा २१.६५ प्रतिशतले बढेकाे छ। बैंकले इम्पेरमेन्ट शुल्क घटाएर १ करोड २२ लाखमा झारेकाे छ । याेसँगै सञ्चालन मुनाफा र खुद नाफामा बृद्धि भएकाे छ ।

बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकको इपीएस आम्दानी बढेर १८ रुपैयाँ ६६ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे ११.०९ गुणा रहेको छ । नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस वितरण गरेकाेमा ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको थियाे । जगेडामा ४ अर्ब ९७ करोड रुपैयाँ रहेकाे छ। बितेका तीन महिनामा निक्षेपमा ३.४५ प्रतिशतले घटेको छ । कर्जामा ३.४४ प्रतिशतले बढेको छ।