गौतमबुद्ध र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको विजनेस बढाउन उच्चस्तरीय छलफल

-



     सफल आवाज    
     कार्तिक १८ गते २०८० मा प्रकाशित



काठमाडौँ, १८ कात्तिक । भैरहवाकाे गौतमबुद्ध र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको विजनेस बढाउने र सञ्चालन ढाँचाबारे उच्च सरकारी अधिकारीबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भएको छ।

पर्यटनमन्त्री सुदन किरातीको पहलमा भएकाे बैठकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी रहेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नयाँ विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउन सबै अङ्गको महत्वपूर्ण भूमिका रहेकाले प्रभावकारी विकल्पका बारेमा छलफल भएको छ ।

व्यावसायिक रुपमा सञ्चालनमा आएका दुवै विमानस्थलले राम्रो विजनेस पाएका छैनन् । गौतमबुद्ध विमानस्थलमा हाल नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।

“नयाँ अन्तर्राष्ट्रिय विमानस्थल कसरी र कुन ढाँचाबाट सञ्चालन गर्ने भन्नेबारे गम्भीर छलफल भयो, तर कुनै निष्कर्ष निस्किएको छैन। विमानस्थलको सञ्चालन व्यवस्थापन गर्नु राज्यको दायित्व हो त्यसैले सबै निकायको सक्रियता जरुरी हुन्छ”, प्राधिकरणका सूचना अधिकारी भूलले भने ।

उनले नयाँ विमानस्थल सञ्चालन गर्न श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल भएको बताएका छन ।