काभ्रे कुशादेवीमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू

-



     सफल आवाज    
     कार्तिक १९ गते २०८० मा प्रकाशित



काभ्रे, १९ कात्तिक । काभ्रे जिल्लाकाे कुशादेवीमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएकाे छ । पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुल्चोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिबार नागीडाँडामा शुभारम्भ गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका थिए । उनले प्याराग्लाइडिङबाट रोजगार सिर्जना हुने प्रशस्त सम्भावना रहेको बताए ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ , यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्नेमा मन्त्री किरातीले जाेड दिए ।

पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर तीनवटा विषयको समायोजनबाट मात्रै पर्यटनको क्षेत्रमा थप विकास हुने समेत बताएका थिए।” सो अवसरमा मन्त्री किरातीले पनौतीको ऐतिहासिक र सांस्कृतिक स्थलक्षेत्रको अवलोकन गर्नुका साथै जानकारी लिएका थिए ।

साे कार्यक्रममा साेही क्षेत्रका सांसद गोकुल वास्कोटा, पनाैति नगरपालिकाका नगरप्रमुख, पुर्व नगरप्रमुख लगायतका अतिथि तथा स्थानियबासीकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित याे प्याराग्लाइडिङमा कुशादेवी बजारबाट करिब २४०० मिटर उचाईमा रहेको रमणिय नागीडाँडाबाट उडान हुनेछ । त्यहासम्म यातायातको व्यवस्था तथा फोटो र भिडियो सहित प्रति उडान ६ हजार ५ सय शुल्क ताेकिएकाे छ । तस्बिर : श्रीकृष्ण थापा