
काठमाडाैं, २१ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आजदेखि एफपीओ खुलाएकाे छ । लघुवित्तले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि एफपीओ खुलाएकाे हो।
उन्नति सहकार्य लघुवित्त साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएर बनेकाे हाे । गाभिएपछि उन्नति सहकार्य लघुवित्तको पूँजी ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। त्यसैलाइ ऐन अनुसार कायम गर्न एफपीओ खुलाइएकाे हाे ।
लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१.१८ कित्ता जारी गरेकाे हाे । यसका लागि लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । ताेकिएकाे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले लघुवित्तको एफपीओमा घटीमा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। उनीहरूले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन सकिनेछ ।
लघुवित्तले सहकार्य लघुवित्तलाई प्राप्त गरेपछि २०७७ असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुँदै आएको छ। यसले कारोबार गर्ने मुख्य स्थान सिद्धार्थनगर नगरपालिका वडा नं. १२ भैरहवा, रुपन्देहीमा छ। यसका हालसम्म २८ जिल्लामा ८२ शाखा कार्यालयहरु छन्।
संस्थाकाे चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ। एफपीओ बिक्रीपछि चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा हुनेछ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।