आइएमई ग्रुपद्वारा सरकारलाई डेढ करोड सहयाेग हस्तान्तरण

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ कात्तिक। आइएमई ग्रुपले सरकारलाई १ करोड ५० लाख सहयाेगकाे चेक हस्तान्तरण गरेकाे छ। जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग बापतकाे १ करोड ५० लाखको चेक आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाश शरण महत र मुख्यसचिव डा. बैकुण्ठ अर्याल समेतकाे उपस्थित थियाे।

सहयाेग हस्तान्तरण कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको उपस्थिति रहेकाे बैकले जनाएकाे छ।

भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।