
पोखरा, २४ कात्तिक । पोखरा महानगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बिच कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र (यूएसएआईडी) को तर्फबाट परियोजना प्रमुख एगनेस लुजले बिहीबार हस्ताक्षर गरे।
समझदारी अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । आगामी नोभेम्बर १, २०२३ देखि डिसेम्बर ३०, २०२५ सम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेगरि समझदारी भएको हो । यस अवधिमा पर्यटन क्षेत्रमा सार्वजनिक लगानी वृद्धिका लागि आवश्यक कार्य योजना सहित खाका तयार गर्न अल्पकालीन तथा दीर्घकालीन प्राविधिक सहयोगको साझेदारी गरिनेछ ।
पोखराको पर्यटन विकासका लागि पर्यटन व्यवसाय र पर्यटन व्यवसायीले सामना गरिरहेका चुनौती र समस्यालाई सम्बोधन गर्न पोखरा महानगरपालिकालाई आवश्यक प्राविधिक तथा परामर्शात्मक सहयोग समेत युएसएआइडी टी एन्ड सिले प्रदान गर्नेछ । समझदारी अनुसार पर्यटन विकासमा आवश्यक प्रशिक्षण, लगानी फोरमहरू, बजारीकरण र प्रचारप्रसारका कार्यक्रमहरू पनि गरिनेछन् । यसको कार्यान्वयन भने सहरी योजना आयोगको सहजिकरणमा हुनेछ ।
पोखरा महानगरपालिकाले साझेदारबाट प्राप्त प्राविधिक परामर्शको कार्यान्वयन भने महानगरपालिकाको आवश्यकता अनुसार गरिने नगर प्रमुख धनराज आचार्यले बताए। पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताउँदै उनले पर्यटन पूर्वाधार तथा पोखराको पर्यटनमैत्री विकासका सन्दर्भमा प्राप्त सुझावहरूको कार्यान्वयन उपयुक्तताको आधारमा गरिने बताए। समझदारी अनुसार गुणस्तरीय पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यहरू होमनाथ गैरे र सुरेन्द्रबाबु तिवारी, मन्दिरा पराजुली लगायतको उपस्थिति रहेको थियो ।
यूएसएआईडीले आफ्नै खर्चमा सञ्चालन गर्ने यस परियोजनाले उच्च गुणस्तर र मूल्यको निर्यातमा विविधीकरण, दिगो रोजगारी वृद्धि र अधिक स्थायित्व तथा दिगो निर्माणमा सहयोग गर्दै आइरहेको छ । साथै यसले हरित वृद्धि वित्त पोषण, जलवायु वित्त पोषण र स्वदेशी तथा घरेलु लगानी लगायत वित्त पोषण र लगानीका नयाँ स्रोतहरू जुटाउने गरेको छ ।