
FILE PHOTO: Ukrainian refugees show their documents before they board a flight at Iasi International Airport in Romania, after Russia's invasion of Ukraine, en route to Israel, March 8, 2022. REUTERS/Ronen Zvulun
किएभ, २६ कात्तिक । गत वर्ष रुसी आक्रमणपछि तेतियाना कोचेभाले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा आफ्नो घर छोडेर गाजा नजिकैको इजराइली तटीय सहर अश्कलोनमा शरण लिएकी थिइन् । उनका पतिले विगतमा इजराइलमा काम गरेका थिए ।
आफ्ना तीन छोराछोरीलाई रुसी आक्रमणबाट टाढा राख्नका लागि अश्कलोन लैजाँदा शान्तिसँग बाँच्न सकिने ग्यारेन्टी हुन्छ भन्ने उनले सोचेकी थिइन् । तर त्यसपछि अक्टोबर ७ आयो जुन दिन हमासले इजराइमाथि हमला गर्यो । इजराइल र हमासबीचको युद्धमा हजारौँ मानिस मारिए । हजारौँ अन्य युक्रेनी शरणार्थीको जस्तै ३९ वर्षीया कोचेभा पनि दोस्रोपटक युद्धबाट भागिन् । उनले भनिन्, “यदि म मारिएँ भने कम्तीमा पनि मेरो जन्मभूमिमा हो ।”
सन् २०२२ फेब्र्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्दा कोचेभाले खार्किभमा बेसमेन्टमा लुकेर १० दिन बिताइन् । खार्किभ झन्डै रुसी सेनाको हातमा परेको थियो । रुसी आक्रमणको पाँच महिनापछि उनको परिवार इजराइल प्रस्थान गर्यो । उनीहरूले गाजाबाट करिब १० किलोमिटर टाढा अश्कलोनमा नयाँ जीवन सुरु गरे ।
करिब एक हजार दुई सयको ज्यान जाने गरी हमासले गरेको अचानक आक्रमणपछि उनले अश्कलोन छोड्नुपर्छ भन्ने महसुस गरिन् । उनले भनिन्, “मेरो हात काँप्न थाल्यो र मेरो मुलुकमा युद्ध सुरु हुँदा भएको जस्तो अनुभूति मलाई भयो ।” त्यसपछि इजराइलले गाजापट्टीमा सैन्य कारवाही सुरु गर्यो । प्यालेस्टिनी लडाकू समूह हमासका अनुसार इजराइली कारवाहीमा अहिलेसम्म ११ हजारभन्दा बढी मानिस मारिएका छन् ।
कोचेभा अनन्त साइरन र विस्फोटहरू सम्झिँदै फेरि आश्रयस्थलमा सुतिन् । त्यसपछि उनले त्यहाँबाट भाग्नुपर्छ भन्ने निर्णय गरिन् । “जब साइरन र विस्फोटका घटना तीव्र हुन् थाल्यो, म आत्तिएँ”, उनले भनिन्, “म डराएँ, मलाई घर आउनुपर्छ भन्ने महसुस भयो ।” परिवारलाई मध्य इजराइलमा सारिएको थियो । खार्किभ जानुअघि धेरै दिन उनीहरू त्यहाँ बसे । युक्रेनको नियन्त्रणमा रहे पनि खार्किभमा युद्ध अझै पनि जीवनको एउटा विशेषता हो ।
रुसी आक्रमणबाट उक्त सहर अझै प्रभावित हुन्छ । साइरन अहिले पनि जीवनको नियमित हिस्सा भएको छ । तर कोचेभाका लागि खार्किभ फर्किनु राहतको कुरा थियो । “म यहाँ हिँड्छु, यो मेरा जन्मभूमि हो, मेरो झन्डा हो, यसलाई कसरी व्यक्त गरौँ मलाई थाहा छैन, म खुशी छु”, उनले भनिन् । हमासको आक्रमपछि करिब चार हजार युक्रेनीले इजराइल छोडेको किएभले बताएको छ ।