लक्ष्मी पूजाको दिन विद्युतकाे माग १ हजार ४३८ मेगावाट रेकर्ड, पिक आवरमै ५१७ मेगावाट भारत निर्यात

-



     सफल आवाज    
     कार्तिक २७ गते २०८० मा प्रकाशित



काठमाडाैं, २७ कात्तिक । यस वर्ष तिहारको लक्ष्मी पूजाको दिन देशभर विद्युत्काे माग उच्च भएकाे छ । प्राधिकरणले १४ सय ३८ मेगावाट रेकर्ड गरिएको जनाएकाे छ ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४ सय ३८ मेगावाट रेकर्ड गरेको जनाएकाे छ । गत वर्ष लक्ष्मी पूजाको दिन १३ सय ५ मेगावाट रेकर्ड गरिएको थियो। यस पटक प्राधिकरणले उच्च माग १३ सय ५७ मेगावाट पुग्ने प्रक्षेपण गरेर आपूर्ति व्यवस्थापन मिलाएकाे जनाएकाे छ । 

प्राधिकरणले देशमा चाहिने विद्युत् मागलाई वितरण गरेर बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरेको जनाएकाे छ । गएकाे वर्ष लक्ष्मी पूजाकाे पिक समयमा ४०६ मेगावाट निर्यात भएको थियो । लक्ष्मी पूजाको दिनमा भारतमा निर्यात गरिएकाेसहित कुल माग १९ सय ५५ मेगावाट रेकर्ड भएकाे छ । याे माग गएकाे वर्षमा १७ सय ११ मेगावाट थियो । 

काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड रहेकाे छ । गत वर्ष ३४२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्मी पूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रमा रहेकाे कन्ट्रोल रुममा खटिएका जनाएकाे छ ।