जासुसीको आरोपमा जेलमा परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह

-



     सफल आवाज    
     कार्तिक २७ गते २०८० मा प्रकाशित



जासुसी गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको टोक्योका वरिष्ष्ठ सरकारी प्रवक्ताले बताएका छन् ।

“हामीलाई थाहा छ चीनको हुनान प्रान्तको उच्च अदालतमा नोभेम्बर ३ मा ५० वर्षीय एक जापानीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ, उनलाई सन् २०१९ जुलाईमा हिरासतमा लिइएको थियो, उनको पुनरावेदन खारेज गरिएको थियो”, हिरोकाजु मात्सुनोले भने, “जापानी नागरिकको सुरक्षाको दृष्टिकोणले जापान सरकारले सक्दो सहयोगलाई जारी राख्नेछ ।”

जापानको विदेश मन्त्रालयका अनुसार सन् २०१५ मा चीनको संशोधित जासुसीविरोध कानून लागु भएपछि कम्तीमा १७ जापानीलाई चिनियाँ अधिकारीहरूले हिरासतमा राखेका छन् । जापानी औषधि कम्पनी एस्टेलसका एक जापानी कर्मचारीलाई पक्राउ गरिएको गत महिना चीनस्थित जापानी राजदूतावासले पुष्टि गरेको थियो ।

जासुसीको आरोपमा उनलाई महिनौँदेखि हिरासतमा राखिएको बेइजिङले बताएको थियो । चीनका राष्ट्रपति सी जिनपिङ र जापानी प्रधानमन्त्री फुमियो किसिदा दुवै यसै साता सान फ्रान्सिस्कोमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनमा सहभागी हुँदैछन् ।

बैठकका क्रममा जापान–चीन शिखर सम्मेलनका सम्बन्धमा कुनै निश्चित योजना नबनेको मात्सुनोले बताउनुभयो । दुवै पक्षका कूटनीतिज्ञहरूले राष्ट्रपति सी र प्रधानमन्त्री किसिदाबीच भेटवार्ता गराउने दिशमा काम गरिरहेको जापानी स्थानीय सञ्चारमाध्यमले बतएको छ ।

यदि सी र किसिदाबीच वार्ता भयो भने एजेन्डामा चीनले हिरासतमा लिएका जापानी नागरिकलाई पनि समावेश गरिने अज्ञात सरकारी स्रोतलाई उद्धृत गर्दै जापानी समाचार समिति जिजीले बताएको छ । टोक्योले फुकुसिमा आणविक प्लान्टबाट फोहरपानी छाडेपछि जापानी समुद्री खानाको आयातमा चीनले लगाएको प्रतिबन्धको विषय पनि प्रधानमन्त्री किसिदाले उठाउनु हुने जिजीले बताएको छ ।

हालैका वर्षमा बेइजिङले आफ्नो छिमेकी मुलुक जापानका लागि जासुसी गरेको आरोपमा जापानी र चिनियाँ दुवै नागरिकलाई हिरासतमा लिएको छ