नेपाल वेयरहाउजिङ्गले मंसिर १० देखि आईपीओ निष्कासन गर्ने

-



     सफल आवाज    
     मंसिर १ गते २०८० मा प्रकाशित



काठमाडौं १ मंसिर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर जवारि गरि बाँडफाँड गरिसकेपछि अब सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर खुलाउने स्वीकृति लिएकाे थियाे । पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता बाँडफाँड भइसकेकाे छ।

यस्तै २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ।

सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ताका लागि आवेदन दिन पाउने छन् । बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । सेयरमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकएकाे अवधिसम्म पूरा आवेदन नपरेमा मंसिर २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

सेयर लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेराे शेयर अनलाईनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।