लाभांश पारित गर्न ग्लोबल आइएमईले साधारण सभा बाेलायाे

-



     सफल आवाज    
     मंसिर ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ मंसिर । ग्लोबल आइएमई बैंकले मंसिर २८ गतेका लागि साधारण सभा बाेलाएकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे हाे ।

सभाबाट १ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयाेनका लागि ८ प्रतिशत नगद लाभांशसहित ९ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

संस्थापक शेयरधनीहरूबाट ३ जना र सर्वसाधारण शेयरधनीहरूको समूहबाट ३ सहित ६ जना सञ्चालकहरू चयन गर्ने, लेखापरीक्षक नियुक्तकाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरुमाथि छलफल गरि पारित गरिने भएकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि मंसिर १३ गते बुकक्लोज गर्ने बताएकाे छ। सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउनका लागि मंसिर १२ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

बैंककाे १७ औँ वार्षिक साधारण सभा मंसिर २८ गते बिहान ९ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा डाकिएकाे छ ।