सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन अध्यक्ष ढकालकाे सुझाव

-



     सफल आवाज    
     मंसिर १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् ।

छैठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषको ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा रु ४५ अर्बभन्दा बढी रकम जम्मा भइसकेको उल्लेख गर्दै सो सुझाव दिएको महासङ्घले जनाएकाे छ ।

अध्यक्ष ढकालले भने–“कार्यविधी बनाएर यसलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको स्थापना भएको छ वर्ष लाग्यो तर यति छोटो समयमा नै कोषले रोजगारदाता र श्रमिकबीच सम्बन्ध सुधारमा महत्त्वपूर्ण काम गरेको छ ।”

अध्यक्ष ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउँदै राज्यको दूरदराजमा रहेका विपन्न जनता जो वैदेशिक रोजगारीमा जान चरम आर्थिक सङ्कट बेहोरीरहेका छन् तिनको सहजीकरणमा लगानी गर्नसमेत सुझाव दिए। उनले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरू र श्रमिक सम्बन्ध सुमधुर बनाएको बताए ।

लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानूनी र संस्थागत व्यवस्था भएको अध्यक्ष ढकालले बताए। “यो नीतिगत सुधारले सामाजिक रुपान्तरणका हाम्रा प्रयासमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ,” उनले भने ।

अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यन्वयनमा महासङ्घको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।