काठमाडौंसँग जाेडिएका जिल्लामा प्रशस्त संभावना छन: अर्थमन्त्री डा. महत

-



     सफल आवाज    
     मंसिर १७ गते २०८० मा प्रकाशित



नुवाकोट, १७ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौं वरिपरिका जिल्लामा प्रशस्त संभावना रहेको बताएका छन । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ ।’

‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो’, उनले भने, ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौं वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो ।’

‘काठमाडौंमा राणाहरुको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पुर्याउन सक्ने ठाउँको जमिन उनीहरु माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भए ।’

‘काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित रहे । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो’ मन्त्री डा. महतले भन्नुभयो, ‘काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।

मन्त्री डा. महतले भन्नुभयो, अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौं–छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौं । एक अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’

‘यहाँकै प्रकाश महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइन भन्ने तपाईंहरुलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन, उहाँले भन्नुभयो, ‘त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं ।  उहाँहरुले प्राथम्भिक अध्ययन गर्न गर्नुहुनेछ । उहाँहरुले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ ।’

अर्थमन्त्री डा. महतले अध्ययन सम्पन्न भएपछि काठमाडौं–छहरे सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्ने बताएका थिए । ‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौं । त्यसपछि चीन सरकारले थप विकल्पहरु दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रकृया अगाडि बढ्छ ।’

‘वातावरण अध्ययन नेपाल सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अगाडि बढाउँछौं । एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र यही, तर म यसमा लागिरहेको छु’ उनले भने, ‘सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन । एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइसराइ रोक्छ ।’

मन्त्री डा. महतले भने, यस केन्द्रमा स्थापना गरिएको स्वास्थ्य चौकीले सम्पूर्ण सुविधा विस्तार गर्दै सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिए । अहिले धेरै सुविधा दिन सकेको छैन, आउने दिनमा डाक्टर र स्वास्थ्य सहायकको दरबन्दीको व्यवस्था गर्नेतिर लाग्नुपर्छ ।’

‘सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि यही उपलब्ध भयो भने सानातिना समस्याका लागि उपचार गर्न बाहिर जान पर्दैन । स्वास्थ्य, शिक्षा र पूर्वाधार चाहेर पनि एकैपटक गर्न सकिँदैन । उपलब्ध साधनस्रोतको भरपूर उपयोग गरेर आवश्यकतालाई केन्द्रविन्दूमा राखेर बजेट विनियोजन गर्नेतर्फ सरकार केन्द्रित छ ।’ महतले भने ।