स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र र ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट डा बुद्धि सम्मानित

-



     सफल आवाज    
     मंसिर २४ गते २०८० मा प्रकाशित



पोखरा, २४ मंसिर । युआरएल फाउण्डेशन, नेपालले युआरएल स्थापनाको १०औं वार्षिकोत्सवको अवसरमा एभरेष्टकर्मि पत्रकार दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार अर्पण गरेको छ ।

यस्तै युआरएलले नेपालको जनस्वास्थ्य क्षेत्रमा ४० वर्ष बढी सेवा गरेका र हाल पनि सेवामै आवद्ध रहेका प्राडा.बुद्धि बहादुर थापालाई पहिलो पटक ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड २०८०’ अर्पण गरेको छ ।

श्रेष्ठ एभरेस्ट एफएमका कार्यकारी निर्देशक, एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन्। उनलाई नगद ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्र अर्पण गरिएको थियाे ।

दुई दशक अघिदेखि संचार क्षेत्रमा रहेर स्वास्थ्य क्षेत्रका विभिन्न गतिविधिमार्फत पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, यूआरएल फाउण्डेसनका अध्यक्ष ठाकुर प्रसाद पन्त लगायतले सम्मान तथा पुरस्कार अर्पण गरेका हुन् ।

सोहि समारोहमा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुने प्राडा थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुन् । थापा तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट थिए। उनी हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपति भई नेतृत्वदायि भूमिका निर्वाह गरेका थिए ।

पोखरा विश्वविद्यालयको संस्थापक सिनेटर रहेका डा थापा सेतीगंगा सामुदायिक अस्पतालको दुइ कार्यकालका लागि अध्यक्ष बनेका थिए । थापा हाल जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका निर्देशक हुन् । स्वास्थ्य सेवामा समयको प्रवाह नगर्ने र राति १, २ वजे विरामीले बोलाए पनि सेवामा हाजिर हुने गर्थे ।

युआरएल पत्रकारीता पत्रकारिता पुरस्कार यसअघि प्रादेशिक स्तरमा प्रदान गरिँदै आएकोमा यसपटकदेखि फाउन्डेसनमार्फत राष्ट्रिय स्तरको बनाइएको हो ।

गण्डकी प्रदेशको पहिलो र लोकप्रिय ल्यावको रुपमा परिचित रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी युआरएलले सामाजिक सेवाका लागि स्थापना तथा प्रवर्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो । संस्थाका ६ लाख सेवाग्राही रहेका छन् । १५४ वटा नि:शुल्क स्वास्थ्य शिविर तथा १ लाख ६० हजार विरामीकाे लागि नि:शुल्क सेवा प्रदान गरेकाे छ ।

पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समितिका संयोजक बद्रीविनोद प्रतिकले पुरस्कृत दुबै श्रष्टाको परिचय र उनीहरुले दिएको योगदानको चर्चा गरेका थिए ।

प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन भएको थियो ।

प्रतिभा छनोट समितिमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी पूर्व प्रशासक नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन थिए ।

युआरएलका प्रबन्ध निर्देशक गणेश कोइरालाले संचालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ठाकुर प्रसाद पन्तको अध्यक्षतामा भएको थियो ।