डा सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला लगायतका व्यक्तित्वहरू काठमाडौं महानगरद्वारा सम्मानित

-



     सफल आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित



काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ महानगरपालिकाले बरिष्ठ नेत्रराेग बिशेषज्ञ डा सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला लगायतका बिभिन्न व्यक्तित्वलाई सम्मान गरेकाे छ। महानगरकाे २९औँ महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेको हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक डा सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला , साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे ।

यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मीरा चौधरी, पूर्वकप्तान फुटबलर बालगोपाल महर्जन, नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का, कराते खेलाडी एरिका गुरुङ, महिला बास्केटको क्याप्टेन सविना श्रेष्ठ र कराते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पुरस्कृत गरिएकाे छ ।

पुरस्कृत व्यक्तित्वलाई जनही १ लाख ५० हजार प्रदान गरिएको थियो । महानगरका प्रमुख बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या र फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न बाँकी रहेको बताए । उनले महानगरका ३२ वटै वडाका सांस्कृतिक झाँकी र नृत्य देखाउन पाइएकामा खुसीे व्यक्त गरेका थिए ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितका लागि मात्रै हुनुपर्छ भन्ने अवधारणाका साथ महानगरपालिका अघि बढेको बताइन । महानगरमा न्यायिक सुशासन कायम गर्न हरेक सेवाग्रहीलाई सहज, सरल पहँुचका लागि निःशुल्क कानुनी सेवा सुरुआत गरिएको उनले जानकारी दिइन।