सामाजिक सेवाकाे क्षेत्रबाट नेपालले नयाँ सन्देश दिइरहेकाे छ : प्रधानमन्त्री दाहाल

-



     सफल आवाज    
     मंसिर ३० गते २०८० मा प्रकाशित



काठमाडौँ, ३० मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले सामाजिक सेवाकाे क्षेत्रबाट नयाँ सन्देश दिइरहेकाे बताएका छन । मकवानपुरको हेटौँडामा आज मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताएका हुन ।

“विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ । मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ”, प्रधानमन्त्री दाहालले भने, “शान्तिको सन्देश पनि नेपालले नै दियो ।

मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौँ । यहीबाट नेपाललाई चिनाउन सकिन्छ ।” मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै उनले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे ।

“विभिन्न धर्म, राजनीतिक वाद, जेजे भनिए पनि ती सबै मानव सेवाका लागि ल्याइएको हो । कुनै पनि रुपमा विभाजित नभएर एकताबद्ध भएर मानव सेवामा लाग्नुहोला, असहायलाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म हो”, प्रधानमन्त्री दाहालले भने । उनले सङ्घ, प्रदेश र स्थानीय तहलाई मानव सेवाको अभियानमा सक्रियतापूर्वक लाग्नु पर्ने भन्दै मानवताको क्षेत्रमा अविचलित रुपमा खटिइने सामाजिक संस्था तथा व्यक्तिलाई सहयोग गर्नसमेत अपिल गरे ।

संविधानसभाबाट जारी संविधानले ऐतिहासिक रुपमा आमजनतालाई सार्वभौम बनाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “नेपालको इतिहासमा कहिल्यै पनि जनता सार्वभौम भनेर संविधानमा उल्लेख गरिएको थिएन । संविधानसभाबाट बनेको पहिलो संविधानमा नेपाली जनतालाई सार्वभौम बनायो, यो युगान्तकारी र ऐतिहासिक छ ।”

संविधानमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायत महत्वपूर्ण मौलिक अधिकारलाई समावेश गरिएको छ जनाउँदै उहाँले आम जनतालाई सार्वभौम बनाउने र कोही पनि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाबाट वञ्चित हुन नपर्ने घोषणा ऐतिहासिक रहेकाे बताए । मौलिक हकको कार्यान्वयका क्रममा मानव सेवा आश्रमले ठूलो सहयोग गरेको उनको भनाइ थियो ।