लिबियामा पछिल्लो आप्रवासी त्रासदीमा ६१ को मृत्यु भएको आशङ्का

-



     सफल आवाज    
     पौष १ गते २०८० मा प्रकाशित



त्रिपोली, १ पुस । उत्तरी अफ्रिकामा पछिल्लो त्रासदीमा लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले शनिबार बताएको छ ।

आइओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको छ, “लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुङ्गा उच्च छालहरूका कारण डुबेर उनीहरूको मृत्यु भएको विश्वास गरिएको छ ।” जीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करिब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आइओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“२५ जनाको उद्धार गरी लिबियाको हिरासत केन्द्रमा सारिएको छ”, आइओएमले भनेको छ । जीवित सबैको अवस्था राम्रो रहेको र उनीहरूलाई आइओएमका कर्मचारीबाट चिकित्सा सहयोग प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ । इटाली हुँदै युरोप पुग्ने अपेक्षामा खतरनाक सामुद्रिक यात्राको जोखिम उठाउने आप्रवासीहरूका लागि लिबिया र ट्युनिसिया प्रमुख प्रस्थान विन्दु हुन् ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सी आइओएमका अनुसार यस वर्ष ट्युनिसिया र लिबियाबाट एक लाख ५३ हजारभन्दा धेरै आप्रवासी इटाली पुगेका छन् । इटालीका अतिदक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अवैध आप्रवासन रोक्ने वाचा गरेपछि गत वर्ष निर्वाचन जितेका थिए। मेलोनीको कट्टर–दक्षिणपन्थी सरकारले उत्तरी अफ्रिकाबाट खतरनाक सामुद्रिक यात्राको प्रयास गर्ने मानिसहरूलाई बचाउने परोपकारी जहाजहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउन धेरै उपाय लिएको छ ।