काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य वृद्धि गर्न सम्झौता

-



     सफल आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ पुस । काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गरे।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै याे सम्झौताले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको चर्चा गरे। दुवै पक्षबीच एकआपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रममा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको र दुवै निकायको क्षमतामा थप वृद्धि हुने विश्वास व्यक्त गरे।

नेपाल प्रहरीको क्षमता अभिवृद्धि तथा कार्य सम्पादन प्रणालीलाई थप सबल बनाउन काठमाडौँ विश्वविद्यालयबाट विगतदेखि प्राप्त भएको सहयोग र सहकार्यप्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक कुँवरले आगामी दिनमा सहकार्यका थप क्षेत्रको पहिचान र परस्पर सहयोगको लागि नेपाल प्रहरी तयार रहेको बताए। सम्झौता कार्यान्वयन गर्न आवश्यक संयन्त्रसहितको काम अगाडि बढाउन अस्पताल प्रशासनलाई उनले निर्देशनसमेत दिए ।

समारोहमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेशनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले बताए।

सम्झौतापत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने, एकअर्काको शैक्षिक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकतालाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमको विकास र कार्यान्वयनका सम्भावना अन्वेषण गर्ने उल्लेख गरिएको छ ।

विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आआफ्ना सङ्कायका लागि संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, अनुसन्धान निष्कर्ष, प्रकाशन र शैक्षिक सामग्रीसहित शैक्षिक जानकारी दिने, अनुसन्धान र शिक्षाको गुणस्तर बढाउन प्रयोगशाला सुविधा, उपकरण र विधिमा मात्र सीमित नभएर प्राविधिक विशेषज्ञताको साझेदारीलाई दुवै पक्षले सक्रिय रूपमा प्रवर्द्धन गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्ष अवधिको लागि लागू हुनेछ । प्रहरी अतिरिक्त महानिरीक्षक, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्रा डा मनोज हुमागाईंलगायत अन्य प्राध्यापक, प्रहरी नायब महानिरीक्षक एवं वरिष्ठ प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।