न्याय प्रशासनको १ वर्ष: शीघ्र मुद्दा फर्छ्योट गर्दै न्यायालय

-



     सफल आवाज    
     पौष १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ पुस । सर्वोच्च अदालतले ५ वर्ष नाघेका मुद्दालाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा पुर्‍याउने लक्ष्यका साथ मुद्दा फर्छ्योटलाई तीव्रता दिएको छ ।

पाँच वर्ष नाघेको मुद्दाको सङ्ख्या बढ्दै गएपछि विसं २०७९ साउन १ गतेदेखि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९’ कार्यान्वयन ल्याएपछि मुद्दा फर्छ्योट बढेको हो ।

“अदालतमा रहेका पुराना र नयाँ मुद्दालाई समेत छिटो फर्छ्योट गर्नका लागि अतिरिक्त समयमा काम गर्ने, समयमै इजलास बस्ने काम भइरहेको छ”, सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, “अब दैनिक १० वटा इजलास बस्दा योजनाअनुरुप मुद्दा फर्छ्योटमा सहयोग पुग्छ ।”

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था रहेकाेमा हाल प्रधानन्यायाधीशसहित २० जना न्यायाधीश छन्।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्यअनुसार मुद्दाको शीघ्र फर्छ्योट गर्न तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पुराना मुद्दालाई छिटो फर्छ्योट गर्नका लागि न्यायाधीश तीलप्रसाद श्रेष्ठको संयोजकत्वमा एउटा समिति गठन गरेका थिए ।

उक्त समितिमा तत्कालीन नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च बार एशोसिएसनका तत्कालीन अध्यक्ष पूर्णमान शाक्य रहेको समितिले कार्ययोजना बनाई लागू गरेको थियो ।

उक्त कार्ययोजनामा निर्धारित समय ११ बजे इजलास बस्ने र पूरा समय बस्ने परिपाटी अपनाउने तथा सम्बन्धित सरकारी वकिल र कानुन व्यवसायी पनि निर्धारित समयमा इजलासमा उपस्थित हुनुपर्ने उल्लेख थियो । उक्त कार्ययोजनाअनुसार अहिले पनि सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतमा काम भइरहेको छ ।

उक्त कार्ययोजना लागू भएपछि मुद्दा फर्छ्योटमा ऐतिहासिक सफलता प्राप्त भएको थियो । कार्ययोजना लागू भएपछि पाँच वर्ष नाघेका मुद्दा १२ हजार एक सय ५२ थान फछर्यौट भएको थियो । तत्कालीन प्रधानन्यायाधीश कार्कीको कार्यकालमा छोटो समयमा आर्थिक वर्ष २०६३/६४ देखिका मुद्दा फर्छ्योटमा १७ वर्ष पुराना मुद्दालाई १३ वर्ष पुरानामा झार्ने काम भएको थियो ।

सर्वोच्च अदालतमा पुराना मुद्दालाई छिटो फर्छ्योट गर्ने कार्ययोजनाअनुसार सर्वोच्चदेखि उच्च र जिल्ला अदालतमा न्यायाधीश रिक्त हुँदा सोचेअनुुुुरुप मुद्दा फर्छ्योट हुन सकेको थिएन । अहिले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरेर ७७ जना न्यायाधीश नियुक्ति हुनुभएको छ । सो जनशक्तिले मुद्दा फर्छ्योटमा सहयोग पुग्नेछ ।

पछिल्लो समयमा रिक्त न्यायाधीश पदमध्ये सर्वोच्च अदालतमा छ, उच्च अदालतमा छ मुख्य न्यायाधीश, उच्च अदालतका लागि २७ र जिल्ला न्यायाधीशमा ३८ जना गरी ७७ जना नयाँ न्यायाधीश नियुक्ति हुनुभएकाे छ । “मुद्दा फर्छ्योटमा न्यायालयले सम्पूर्ण ध्यान दिएको छ”, सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेलले भने, “कानुनको शासनको प्रवद्र्धन तथा नागरिकको हकको संरक्षक भएको न्यायालयले सोबमोजिम प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।”

सर्वोच्च अदालतमा २०८० साल पुस ८ गते आइतबारसम्मको लगत फर्छ्योटलाई हेर्दा जम्मा मुद्दा जिम्मेवारी सरेको २८ हजार एक सय ४१ र यस वर्ष परेको गरी पाँच हजार तीन सय ७३ गरी ३३ हजार पाँच सय १४ रहेको छ । तीमध्ये पाँच हजार तीन सय ८९ फर्छ्योट भएको छ भने सर्वोच्च अदालतमा २८ हजार एक सय २५ मुद्दा बाँकी छ । पाँच वर्ष नाघेका जम्मा पाँच हजार पाँच सय ७० मुद्दा रहेकामा एक हजार दुई सय १३ फर्छ्योट भई बाँकी चार हजार तीन सय ५७ मुद्दा बाँकी छन् ।

त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार दुई सय १७ रहेकामा दुई हजार तीन सय तीन फर्छ्योट भई १५ हजार १४ महिना बाँकी छ । सर्वोच्च अदालतमा सबैभन्दा बढी पुनरावेदन पत्र १९ हजार आठ सय २३ रहेकामा एक हजार छ सय २२ फर्छ्योट भई १८ हजार दुई सय एक बाँकी छन् ।

सबैभन्दा कम बन्दीप्रत्यक्षीकरणका रिट निवेदन दुई सय २५ रहेकामा एकसय ८६ फर्छ्योट भई २९ बाँकी छन् । उच्च अदालतमा २९ हजार एक सय ४५ र जिल्ला अदालतमा एक लाख २१ हजार नौ सय ५१ थान मुद्दा बाँकी छन् । मुद्दा फर्छ्योटलाई छिटो, पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले प्रधानन्यायाधीशबाट तोकिने पेसी गोला प्रक्रियाबाट तोकिने प्रणालीको विकास गरिएको थियो ।