संयुक्त राष्ट्रसंघ महासचिवद्वारा मोगादिसु विमानस्थल हमलाको निन्दा

-



     सफल आवाज    
     पौष २८ गते २०८० मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, २८ पुस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राति मोगादिसुको एडन एडे अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गरेका छन् ।

सो हमलामा युगाण्डास्थित संयुक्त राष्ट्रसंघ गार्ड युनिटका एक जना सदस्यको मृत्यु भएको उल्लेख गर्दै कडा निन्दा गरे ।

“महासचिवले हिजो मोगादिसुको एडेन एडे अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा भएको आक्रमणको कडा निन्दा गरेका छन्,” महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ। महासचिव गुटेरेसले पीडितका परिवार, सहकर्मी, सरकार र युगान्डाका जनताप्रति गहिरो समवेदना व्यक्त गरे ।

उहाँले संयुक्त राष्ट्रसंघका कर्मचारीहरू र परिसर विरुद्ध गरिने सबै प्रकारका आक्रमणहरू अन्तरराष्ट्रिय कानूनद्वारा निषेधित रहेको सबै पक्षलाई स्मरण पनि गराए । गुटेरेसले “आतङ्कवाद विरुद्धको लडाइँमा सोमालियाको सरकार र जनतालाई संयुक्त राष्ट्रसंघको पूर्ण ऐक्यबद्धता र समर्थन” रहेको उल्लेख गरे ।

उनले सोमालियालाई “स्थिर, सुरक्षित र समृद्ध देश” बन्ने बाटोमा सहयोग गर्ने राष्ट्रसंघको प्रतिबद्धता पनि दोहोर्याए । अल-शबाब अतिवादी समूहले यहाँ प्रायः दैनिक आक्रमण गर्ने गरेको छ।