इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा

-



     सफल आवाज    
     पौष २९ गते २०८० मा प्रकाशित



ग्वायाक्विल, इक्वेडर, २९ पुस । इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिबार जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन ।

बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् । राष्ट्रपति डेनियल नोबोआले यसै हप्ता आपराधिक समूहहरूलाई सैन्य कारबाही सुरु गरेपछि दक्षिण अमेरिकी राष्ट्रमा नार्को गिरोहसँग घातक मुठभेड सुरु भएपछि ती कामदारहरूलाई बन्धक बनाइएको थियो ।

यो सङ्कट देशको सबैभन्दा शक्तिशाली ड्रग कारोबार गर्ने समूहका एक नाइके फिटो भनिने जोस एडोल्फो म्यासियासको ग्वायाक्विल जेलबाट भागेपछि उत्पन्न भएको थियो । फिटो भागेपछि जेलमा दङ्गा, बन्धक बनाउने र प्रहरीमाथि आक्रमणहरू भएका थिए । भागेका कैँदीलाई खोज्न र बन्धकलाई रिहा गर्न स्थल, हवाई र समुद्री गस्तीका लागि २२ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ ।

अधिकारीहरूले शहरका मुख्या भागमा कर्फ्यु लगाइ जेलहरूमा छापा मारेका छन् । पेरुसँगको सीमा नजिक एल ओरोमा शनिबार कैदीहरूसँगको झडपमा मारिएका एक गार्डसहित कम्तीमा १९ जनाको हिंसामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिणपश्चिमी माचला कारागारमा ‘सशस्त्र भिडन्त’ भएपछि सेना र प्रहरीले ‘सुव्यवस्था र सामान्य स्थिति बहाली’ का लागि छ वटा शहरका हिरासत केन्द्रमा छापा मारेका थिए । ग्वायाकिल कारागारपरिसरबाट शुक्रबार साँझ कम्तीमा पाँच जना कैदी भागेका थिए र तीमध्ये दुई जनालाई खोजी अभियानका क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।