सीपीआरलाई प्राप्त हुने विदेशी अनुदानमा प्रतिबन्ध

-



     सफल आवाज    
     माघ ३ गते २०८० मा प्रकाशित



नयाँदिल्ली, ३ माघ । भारतले एक प्रमुख थिङ्क ट्याङ्क (प्रवुद्ध) समूह, सेन्टर फर पोलिसी रिसर्च (सीपीआर)लाई प्राप्त हुने विदेशी अनुदान रोक्न लगाएको छ ।

सीपीआर अनुदान रोक्का हुने केही विदेशी परोपकारी संस्था, अधिकार समूह र अन्य नागरिक समाज समूहमध्ये सबैभन्दा पछिल्लो हो । सीपीआर भारतको सार्वजनिक नीतिबारे छलफल हुने प्रसिद्ध मञ्चमध्ये एक हो । यसका कर्मचारीहरू भारतीय सञ्चारमाध्यममा प्रमुख वक्ता र स्तम्भकारका रूपमा स्थान पाएका प्रबुद्ध व्यक्तित्वहरू हुन् ।

उनीहरूले खासगरी काश्मीरको अशान्त क्षेत्रमा राष्ट्रिय सुरक्षा नीति र शासनलगायत संवेदनशील राजनीतिक मुद्दाहरूमा सञ्चारमाध्यममार्फत् दुर्लभ असहमतिको आवाज उठाएका छन् । सन् २०२२ मा कर विभागले छापा मारेपछि विदेशी चन्दा प्राप्त गर्ने सीपीआरको लाइसेन्सलाई गृह मन्त्रालयले अस्थायी रूपमा निलम्बन गरिसकेको छ ।

भारतीय राष्ट्रिय अङ्ग्रेजी दैनिक ‘द हिन्दू’ले गत बिहीबार जनाएअनुसार यसले ‘समसामयिक कार्यक्रमहरू’ को बारेमा रिपोर्ट प्रकाशित गरेको कारण अधिकारीहरूले लाइसेन्स रद्द गर्ने निर्णय गरेका थिए । गृह मन्त्रालयको राजपत्रमा विदेशी अनुदानसम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै अनुमतिपत्र रद्द गरिएको पुष्टि गरिएको छ ।

सीपीआरका प्रमुख अन्तर्राष्ट्रिय दाताहरूमध्ये बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र अमेरिकी विदेश मन्त्रालय पनि थिए । सीपीआरकी अध्यक्ष यामिनी एैयरसँग एएफपीले प्रतिक्रियाका लागि अनुरोध गरेको तर उनले यससम्बन्धमा तत्काल कुनै प्रतिक्रिया दिन चाहेनन्।

गत वर्ष उनले करछापा र विदेशी चन्दाको निलम्बनले सीपीआरलाई ‘अनिश्चित वित्तीय स्थिति’ मा पु¥याएको उल्लेख गरेका थिए ।