पाकिस्तानद्वारा इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा हवाई आक्रमण

-



     सफल आवाज    
     माघ ४ गते २०८० मा प्रकाशित



इस्लामावाद, ४ माघ  । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इरानले पाकिस्तानमा मङ्गलबार राति ‘आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो । पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “ठूलो परिमाणमा आतङ्कवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।”

सरवन शहरवरपरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानको सरकारी समाचार संस्था इरनाले एक प्रान्तीय अधिकारीलाई उद्धृत गरी जनाएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका लागि विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुल्ला उल्लङ्घन’ को निन्दा गरेको थियो ।