
पाेखरा, १७ माघ । पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबलमा थ्रिस्टार क्लब प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले गरेको एक मात्र निर्णायक गोलले थ्रिस्टारलाई उपाधि नजिक पुर्याएको हो ।
पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा थ्रिस्टारले जावलाखेल युवा क्लबमाथि १–० को साँघुरो जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको ७८औँ मिनेटमा दीपेशले प्रहार गरेको बल पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो ।
‘म्यान अफ दी म्याच’ घोषित निर्णायक गोलकर्ता घले ६७ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफको खेलमा दुवै टोलीमा कुनै पनि गोल हुन सकेन । दोस्रो हाफमा दुवैले आक्रामक खेलका थिए । थ्रिस्टार आहाराराको सफल टोली हो । थ्रिस्टारले हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेको छ ।
जारी प्रतियोगितामा थ्रिस्टारले प्रि–क्वाटर फाइनलमा आयोजक सहारा र क्वाटर फाइनलमा भुटानको पारो एफसीमाथि जित निकालेर सेमिफाइनलमा पुगेको थियो । जावलाखेलले प्रि–क्वाटर फाइनलमा मच्छिन्द्र र क्वाटरफाइनलमा मनाङ मस्र्याङदीलाई हराएको थियो ।
खेलपछिको पत्रकार सम्मेलनमा विजेता थ्रिस्टारका प्रशिक्षक विक्रम लामाले काउन्टर अट्याकमा गोल गर्ने रणनीति सफल भएको बताए । “जावलाखेल कम्बाइन टोली हो । त्यसैले सोहीअनुसार रणनीति बनाएका थियौँ । त्यसमा सफल भयौँ”, उनले भने। फाइनलमा आजको खेलका कमीकमजोरी हटाउँदै उपाधि जित्ने गरी खेल्ने लामाको भनाइ थियो ।
जावलाखेलका प्रशिक्षक नरेश थापाले खेलाडीले निकै उत्कृष्ट खेल खेलेकाे बताए। पराजित भए पनि टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उनले उल्लेख गरे। प्रतियोगिताअन्तर्गत बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच दोस्रो सेमिफाइनलको खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए।
भोलिको विजेताले उपाधिका लागि थ्रिस्टारसँग प्रतिस्पर्धा गर्नेछ । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने आयोजकले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




