
काठमाडौं, २५ माघ । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनायो ।
नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे । उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए । खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाउनपुग्यो । सुरुआती ब्याट्सम्यान आशिफ २४ बलमा आठ रन जोड्दै आउट भए ।
उनी नौ ओभर एक बलमा उदय भागवानको बलमा नवनीत धलिवालबाट क्याच आउट भएका थिए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेल आठ रनमा आउट भए । उनी १४ ओभर तीन बलमा ईश्वर ज्योति सोहीको बलमा हर्ष थेकरबाट क्याच आउट हुन पुगे ।
नेपालले तेस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमायो । नेपालका लागि अर्धशतकीय इनिङ्स खेलेका उनले ६२ जोडे । त्यसपछि चौथो विकेटको रूपमा नेपालले भीम सार्कीलाई गुमायो । भीमले २६ बल खेल्दै दुई चौकाको मद्दतमा १७ रन जोडे । कुशल मल्ल ३२ बलमा एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदै आउट भए ।
कुशल हर्ष थेकरको बलमा निकोलस किर्तनबाट क्याच आउट भएका हुन् । त्यसैगरी नेपालले छैटौँ विकेटको रुपमा आरिफ शेखलाई गुमायो । आरिफले ५० बलमा चार चौकासहित ३८ रन बनाए । त्यसपछि पवन सर्राफ आउट भए । उनले ३४ बलमा एक चौका प्रहार गर्दै १५ रन बनाए । उनी ४१ ओभर एक बलमा शाहिद अहमदजाइको बलमा आउट भए ।
खेलको ४८ ओभर पाँच बलमा सोमपाल कामी उदय भागवानको बलमा परगत सिंहबाट क्याच आउट भए । उनन्चास ओभर पाँच बलमा नेपालले नवाँै विकेटको रूपमा रिजन ढकाललाई गुमायो । उनी चार बलमा चार रन जोड्दै ईश्वरजोतको बलमा आउट भए । त्यसैगरी नेपालले अन्तिम विकेटको रुपमा ललित राजवंशीलाई गुमायो ।
ललित खेलको अन्तिम बलमा रनआउट हुन पुगे । बलिङतर्फ क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान दुई/दुई विकेट लिए । त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एक/एक विकेट झारे ।
आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । नेपालले क्यानडासँग दोस्रो खेल यही माघ २७ गते खेल्नेछ भने माघ २९ गते तेस्रो खेल खेल्नेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




