यौन दुर्ब्यवहारको ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा

-



     सफल आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित



टोकियो, १८ फागुन । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रबार राजीनामा दिएका छन् । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको एक शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरू गरेको आरोप लगाएको छ ।

पत्रकारका अगाडि आसु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि बिहीबार ७४ वर्षीय कोजिमाले राजीनामा दिने बताए । उनले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लेखित केही आरोपको खण्डन गरे । जसमा उनले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ ।

“उनले टेलिभिजनसँगको सम्वादमा भने, “मैले त्यसो गरेको थिइनँ, मेरो हाउभाउ अँगालो हालेको जस्तो देखिन सक्छ, तर अँगालो हालेको होइन ।” “प्रतिवेदनमा तटस्थताको अभाव छ र म चाहन्छु कि उनीहरूले थप सावधानीपूर्वक अनुसन्धान गरून्,” उनले भने। प्रसारक एनएचकेका अनुसार कोजिमाले सम्पूर्ण रिपोर्ट पढिनसकेको बताए ।

रिपोर्टमा नगर प्रमुखले ‘आफ्नो ट्राउजर माथि सार्दै कर्मचारीलाई खुट्टा छुन भन्ने गरेको, केही कामदारहरूले छोएपछि कीटाणुनाशक स्प्रे प्रयोग गर्ने गरेको र अनुचित टिप्पणीहरू गर्ने र कर्मचारीहरूलाई झुक्न लगाउनेजस्ता कार्यहरू गर्ने गरेको’ आरोप लगाइएको छ । मङ्गलबार आफ्नो पद छोड्ने बताएका कोजिमाविरुद्ध सार्वजनिक रूपमा कुनै फौजदारी मुद्दा चलाइएको छैन ।